Sunday, November 1, 2015

विश्वभरका सम्पूर्ण नेपालीहरूको एकता, सद्भाव र प्रेमकालागि अभियान


-- ‘’सधैँ-सबै-एकै नेपाली’’
ईतिहासका क्रमवद्ध समयको परिवर्तनसँग नेपालीहरू छरिएर विश्वका कुनाकाप्चामा पुगेका छन् । १८ शताब्दीको शुरुवातसँगै नेपालीहरु बिदेशिन थालेका हुन् । बृटिष ईष्ट ईण्डिया कम्पनीमा नेपाली युवाहरू सेनाको रुपमा प्रवेश गरेपछि त विश्वभर छरिने क्रम बढेर गयो । प्रथम विश्वयुद्ध र दोस्रो विश्वयुद्ध दुबैमा अनगिन्ति नेपालीहरुले प्राण आहुति दिइसकेका छन् । बितेको ५० बर्षमा मात्र करिब २,००,००० नेपाली जवानले बिभिन्न युद्धहरुमा लडेका छन् । करिब २०० बर्ष त नेपालीले बृटिषको सेवामा अनेक युद्ध लडेका छन् । यसरी सेनाको रुपमा र अनेक कारणले नेपालीहरू आज संसारका धेरै भूभागमा पुगेर बसेका छन् । आखिर आज जसरी, जहाँ र जस्तो अवस्थामा नेपालीहरू बसेता पनि हाम्रो केन्द्रिय थलो नेपाल हो । हाम्रो बंशज र पूर्ख्यौली नेपालसँग गाँसिएको छ । हामी सबै-सधैँ- एकै नेपाली हौँ ।

दोस्रो विश्वयुद्धमा सामेल भएर बर्मामा लडेका नेपालीहरू नै आजसम्मको ईतिहाँसमा अरुको सेवामा लड्दा मरेका सबैभन्दा ज्यादा नेपालीहरुको सङ्ख्या इतिहाँसमा सधैँ तिक्त भएर रहेको छ युद्धक्रममा बाँचेकाहरू, हराएकाहरू र आफ्नो मातृभूमि फिर्न नसकेहरूको दयनीय जीवन कथा र आफन्त खोज्दै बर्मा पुगेकाहरूको श्रृङ्खलावद्ध इतिहाँस र जीवनक्रमले साउथ इष्ट एसियाका प्रवासी नेपालीहरूको पृष्ठभूमिलाई प्रष्ट पार्दछ । पछि अनेक कारणले यस क्षेत्रमा पुगेर बसेका प्रवासी नेपालीहरूले नेपालबाट बोकेर ल्याएका भाषा- सँस्कृति पनि कम चाख लाग्दो छैन । बर्मा, थाइल्याण्ड, मलेसिया, सिङ्गापुर आदि देशका प्रवासी नेपालीहरुसँग हाम्रो नाता-सम्बन्ध मात्र हैन, तमाम नेपाली कै जीवन्त एतिहाँस गाँसिएर आएकोछ ।


यस क्षेत्रका प्रवासी नेपालीहरूले नेपाली इतिहाँस, साँस्कृति, धर्म आदि धेरै कुराहरू आज पर्यन्त जोगाएर राखेका छन् । उनीहरूबाट मूलधारका नेपाली र अन्य भूगोलका प्रवासीहरूले धेरै कुराहरू सिक्नु पर्ने अवस्था पनि छन् । यसक्षेत्रका नेपाली प्रवासीहरू आफू बसेको राज्यका अरु आदिवासी नागरिक भन्दा समग्रमा दुखी-गरीब छैनन् । नेपालमा पाईने प्राय: सबै जातजातिका नेपालीहरू भेटदा गर्ब लाग्नु स्वभाविक हो । उनीहरु नेपालप्रति अझै अगाध प्रेम गर्छन् । उनीहरुले आयोजना गर्ने कार्यक्रममा नेपालको राष्ट्रिय गीत बजाउन भुल्दैनन, बरु आफू बसेको देशको राष्ट्रिय गीत बजाउँदैनन् । उनीहरु आफूलाई नेपाली र गोर्खाली भन्न रुचाउँछन् 

No comments: